तर… राईहरुले कुरै बुझेनन्

चन्डीले…चन्डीले…
मोहनी लगायो कुन चैं ‘रन्डी’ले ।

ख्यालठट्टा, हँसीमजाक गर्दा खोटाङको उभोखोलातिर साकेला भाकामा गाइने गीतको एक टुक्रा हो यो ।

गीतले भने झैं राई समुदायमा ‘चन्डी’ शब्द रन्डीकै भूमिकामा वेश्या भएर आइपुगेको सत्य हो । यो कुनै राई भाषाको शब्द हैन । कुनै किरातीको जिब्रोले यो शब्द उच्चारण गर्दैन । तर मोहनी चै लगाइराखेकै छ । अक्सर वेश्याहरूको कमाल यस्तै हुन्छ कि ?

ठ्याक्कै भन्नुपर्दा राई जातिको महान चाड साकेला/साकेवा/तोस/तोसी/वास/सेग्रो/स्याँदरमाथि जबरजस्त सौता पस्न आइपुगेको शब्द हो चन्डी । आमामाथि सौता पस्न आउने रन्डीलाई सिस्नुपानी लाएर ठेगान लाउनुपर्नेमा उरन्ठेउलाहरू वेश्याकै पक्षमा पो बोलीहिँड्छन् । लेखिहिँड्छन् । रिपोर्टिङ गरिहिँड्छन् ।

अचम्म ? आमालाई रुवाउने, सिध्याउने यिनका यी हर्कतहरू कुनै मानेमा क्षम्य छैनन् । यी कुकर्महरू जान–अन्जान जसरी भएका हुन् तुरुन्तै सच्चिनु र सच्च्याइनु जरुरी मात्र हैन अपरिहार्य छ । आमाप्रति सम्मान गर्ने प्रत्येक असल सन्तानको कर्तव्य हो यो ।

भाषाविद् भन्छन्– चण्डी शब्द कुनै किराती भाषाकाे शब्द हैन । किराती जिब्रोले बोल्ने शब्दै हैन । यो त राई जातिको चाडलाई हिन्दुकरण गरी सिध्याउनलाई सत्ताद्वारा लादिएको षड्यन्त्रकारी शब्द हो ।

त्यसो त कुनै पनि जातिको चाडलाई बदनाम गर्नु, बङ्गाउनु र सिध्याउनु अक्षम्य अपराध हो । सत्ताले हिजो यस्ता खाले अपराध बग्रेल्ती गरेकै थियो ।

दशौं हजार हाम्रै मान्छेको बलिदानपछि प्राप्त गणतान्त्रिक मुलुकमा अब उप्रान्तः यस्तो अपराध हुने छैन । सत्ता सञ्चालकहरू यस विषयमा जानकारै होलान् ।

अब यति भनिसकेपछि हाम्रो चाडलाई के भन्ने त ? हामी प्रत्येकले आफ्नो आमाबाउ, बाजेबजुलाई सोध्ने, उहाँहरूले जे भन्नुहुन्छ हो त्यही भन्ने । यदि उहाँहरूले नि जान्नुभएन भने मुन्दुमका जानकार व्यक्तित्वहरूलाई सोध्ने, पक्कै उहाँहरूले जवाफ दिनुहुने छ नै ।

अन्तमा, किरात राई सांस्कृतिक कलाकार संघ, किरात राई लेखक संघ, किरात राई यायोक्खाको विभिन्न जिल्ला कमिटी आदिको आयोजनामा २०६० सालदेखि चन्डी भन्नु हुँदैन भन्दै सभ्य भाषामा निरन्तर अभियान चलाउँदै आइयो ।

तर, दुःखलाग्दो कुरो अझै हाम्रो मान्छे कुरा बुझ्दैन । हाम्रै मान्छेको चेतनाहिन स्वाँठ पारा हेर्दा र विगतमा राज्यसत्ताले गरेको दमनकारी व्यबहार सम्झदा ‘रन्डी’ शब्द प्रयोग गर्न बाध्य भइयो । विज्ञ तथा सर्मिन्दा पाठकसामु माफी माग्न चाहान्छु, माफ गर्नुहोला ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्