ताप्लेजुङको मुक्कुमलुङ (हिन्दुकृत नाम पाथीभरा) जाने बाटो तल्लोफेदीमा हिजो केबलकार बनाउनुपर्ने र बनाउन नहुने पक्षधरको केहीबेर ढुंगा हानाहान भयो ।
जसमा मुक्कुमलुङ संरक्षणका अभियान्ता चन्द्र मादेन टाउकोमा ढुंगा लागेर घाइते भएका छन् । प्रहरीले पनि मादेनलाई नै पक्राउ गरी लछारपछार पार्दा उनको हात भाँचिएको छ ।
केबलकार निर्माणको शिलान्यास गर्ने पक्ष र सोको विरोधमा उत्रिएकाे पक्षको बिचमा झगडा हुँदा एक सर्वसाधारण अर्जुन लिम्बुमाथि खुकुरी प्रहार भएको छ ।
सो घटनाको भिडियोमा एक व्यक्तिले हातमा खुकुरी बोकिरहेको र तिनले प्रहरीलाई समेत धकेलेर लडाइदिएको तर प्रहरीहरु भने लाचार रुपमा प्रस्तुत भएको देखिन्छ ।
लिम्बु (याक्थुङ) समुदायको सांस्कृतिक स्थल मानिने मुक्कुमलुङलाई प्राकृतिक रुपमै रहन दिनुपर्ने मागसहितको आन्दोलन जहिलेदेखि सो क्षेत्रमा केबलकार बनाउने कुरा सुरु भयो त्यहीबेला देखिको हो ।
साे घटनापछि प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन, संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे लगायतकै नेतृत्वमा आन्दोलनकारीमाथि सुनियोजित रुपमा आक्रमण गरिएकाे आरोप लगाएको छ ।
किनकि, नेपाली कांग्रेसका नेता मेयर मादेन र नेकपा एमाले ताप्लेजुङ जिल्ला अध्यक्ष तुम्बाहाम्फेसहितले शुक्रबार तल्लोफेदीमा केबलकार स्टेशन बनाउने कामको शिलान्यास गरेका थिए ।
जसका लागि एउटा एक्स्काभेटर पनि ल्याइएको थियो ।
शिलान्यास गर्नेहरुले टाउकोमा हेलमेट लगाइदिएर हतियारसहित युवाहरुलाई आन्दोलनकारीविरुद्ध परिचालन गरेको र सो क्रममा नै चन्द्र मादेन घाइते भएको र अर्जुन लिम्बुमाथि कुखुरी प्रहार भएको समितिले जनाएको छ ।
सो घटनामा दुई प्रहरीसहित अन्य दुई जना पनि सामान्य घाइते भएका थिए ।
समितिले आक्रमणकारीहरुलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ भने मुक्कुमलुङ संरक्षण तथा केबलकार खारेजीको पक्षमा उभिन सबैलाई अनुरोध पनि गरेको छ ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, लिम्बु थरगत संस्था मूल अभियान समितिकाे सहजीकरण समूह, पहिचानवादी मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च लगायत संस्थाहरुले पनि साे घटनाको भत्र्सना गर्दै गुण्डागर्दी गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
घाइतेहरुको उचार र क्षतिपूर्तिको जिम्मा सो क्षेत्रमा केबलकार बनाउन लगानी गर्ने व्यावसायी चन्द्र ढकाल र सरकारले लिनुपर्ने उनीहरुको भनाइ छ ।
खास तर्क राख्न सकिन है,व्यापारी लाई दिनु भन्दा पनि यस्तो ठाउहरुमा चै सरकारले नै आफ्नो आयस्रोतको बाटो बनाए देखि राम्रो हुन्थ्योकी भन्ने मात्र हो