खसहरूकाे काँधमा भिराइएको जनैको अर्थ

पोखरा विचित्रको छ ! हिजोअस्तिकै कुरा हो । एकजना मेरा परिचितले १५-२० लाख खर्च गरेर छोराको व्रतबन्ध संस्कार गरिदिए ।

ब्राम्हण परिवारकाे भएकोले व्रतबन्ध गर्नु स्वाभाविकै भयो । पैसो थियो खर्च गरे । त्यसमा नाटीकुटी गर्नुको अर्थ थिएन ।

अनौठो लाग्ने कुरो के थियो भयो भने उनलाई मैले एउटा कम्युनिष्ट पार्टीको जिम्मेदार सदस्यको रूपमा चिनेको थिएँ ।

उसो त कुन चाहिँ नेताको चरित्र अनुकरणीय छ र ? त्यसमाथि उनी रामवादी नेताका अनुयायी हुन् भन्ने पनि चिनेको थिएँ । त्यसैले धेरै अनौठो मानिनँ ।

यही प्रसङ्गमा अलिकता कुरो खस र जनैको गरौं ।

जनैको इतिहास खोज्दै जाँदा प्रारम्भमा जाति पहिचान चिन्हको रूपमा प्रयोग थालिएको देखिन्छ । सुरुमा कृष्णसारको छालाको एककाँधे पट्टी बाँध्ने चलनको पछिल्लो रूप तीन डोरे जनैमा विकसित भएको हो ।

अर्थात् जनै जात परिचय चिन्ह हो । त्यसको अरू कुनै धार्मिक, व्यवहारिक र वैज्ञानिक अर्थ छैन ।

जात व्यवस्था हिन्दु समाजको कलङ्क हो । त्यो त्याज्य छ । त्यसैले जात परिचयको रूपमा धारण गरिने जनैको कुनै औचित्य छैन ।

खसहरूकाे हिन्दुकरण भएको ४-५ सय वर्ष हुन थालेछ । हिन्दु नबनेका खसहरू पनि बाँकी छन् ।

जनै औचित्यहीन भएपछि जनै लगाउने संस्कार व्रतबन्धको पनि कुनै अर्थ र औचित्य बाँकी रहने कुरो भएन ।

“बाघको मुख रगत पिए पनि नपिए पनि रातै” भनेजस्तो बाहुनको छोरो बाहुन, क्षत्रीको छोरो क्षत्री र वैश्यको छोरो वैश्य हुने भएपछि ब्रतबन्धको नौटङ्की गरी गरी जनै भिर्नु-भिराउनुको कुनै अर्थ देखिँदैन ।

खस वैदिक जाति होइन । वैदिक रीति परम्परा समयको कुनै काल खण्डमा रहरले अनुकरण थालिएको हो । इतिहासको डोरो पहिल्याउँदै जाँदा सोह्रौ शताब्दी वरपर पुगिन्छ ।

अर्थात् खसहरूकाे हिन्दुकरण भएको ४-५ सय वर्ष हुन थालेछ । हिन्दु नबनेका खसहरू पनि बाँकी छन् ।

भारतमा आर्यइतर विभिन्न स्थानीय जातिहरूले पनि आफूलाई हिन्दु भन्छन् । कैयौंले क्षत्री भन्ने गरेका छन्, तर जनै भने लगाउँदैनन् । अर्थात क्षत्री बन्न जनै लगाउनुपर्ने बाध्यता रहेनछ ।

जनै लगाए पनि नलगाए पनि क्षत्री बन्न भन्न मिल्ने भएपछि नेपालका खसहरूले किन जनै लगाए होलान त ? उसो त जङ्गबहादुरको उदय नभैदिएका भए जनै लगाए पनि खसहरू क्षत्री भनिने सम्भावना थिएन । जनै लगाएर त्यसपूर्व नै ठकुरीहरूले क्षत्रियत्व ओगटिसकेका थिए ।

मतलब, खसहरूलाई क्षत्री बनाइदिएको जनैले होइन, जङ्गबहादुरको उर्दीले हो ।

जनै लगाए पनि नलगाए पनि क्षत्री भन्न पाएपछि खसले किन जनै भिरे होलान त ?

खसहरूले आफूखुसी जनै भिरेका होइनन् । जनै भिराइएको हो । जातवादी प्रभूत्व स्थापित गर्नका लागि जनै दिइएको हो ।

कसै कसैले यजमानहरूको संख्या बढाउन पुरेतहरूले जनै भिराएका हुन् भन्ने तर्क गर्छन् ।

त्यस्तो तर्कसँग पूर्ण सहमत हुन सकिँदैन । त्योभन्दा ठुलो उद्देश्य र स्वार्थ थियो । एउटा सिङ्गो जातिलाई आफ्नो सामु नतमस्तक गराइरहने षड्यन्त्र थियो ।

व्रतबन्ध संस्कारको नाममा हरेक खसले एउटा बाहुन गुरु बनाउनैपर्ने । गुरुको नाममा खुट्टा ढोगाउने । गुरु मात्रै होइन, गुरुआमा, गुरुभाइ भनेर पूरै परिवारको गोडा छुनुपर्ने व्यवस्था मिलाएपछि गुरु बिनाको खस एउटै बाँकी रहने कुरा भएन ।

प्रत्येक खस कसै न कसैको शिष्य हुने नै भो । कुनै न कुनै बाहुनको गोडा ढोग्न बाध्य हुने भो ।

त्यसरी एउटा सिङ्गो जातिलाई गोडामा झुक्नुपर्ने प्रपञ्च गरिएको हो । दुना टपरा उठाएर गर्जो टार्न होइन, एउटा जातिलाई अपमानित गर्न व्रतबन्ध नामको हिन्दु संस्कारको दुरुपयोग गरिएको हो ।

किनकी, न जनैको कुनै उपयोगिता छ न गायत्री मन्त्रको ! न कुनै सिपको ज्ञान दिन्छ न त कुनै शैक्षिक ज्ञान दिन्छ । एक दिन एकपटक कान फुकेको भरमा जिन्दगीभर नतमस्तक भएर खुट्टामा लम्पसार पर्नुपर्ने बनाउने षडयन्त्र नभएर के हो त ?

व्रतबन्ध एउटा नौटङ्की हो । चिबर धारण गरिवरी ब्रह्मचर्य व्रत लिएको नौटङ्की गरिन्छ । गुरुकुलमा गएर अध्ययन गर्ने सम्बधी आमा-छोराबिचको संवाद पाठ गरिन्छ । भिक्षाटनको नौटङ्की गरिन्छ । मन्त्र सुनाइन्छ । एकै दिनमा एउटा किशोर शिक्षादीक्षा प्राप्त वयस्क बन्छ ।

त्यो नौटङ्की केका लागि ? मात्र एउटा खसलाई आजन्म खुट्टो ढोगाउनका लागि । नतमस्तक बनाउनका लागि । मनिवैज्ञानिक दवावमा राख्नका लागि । हेर्दा एउटा मान्छेलाई जनै लगाइदिए जस्तो देखिने भए पनि त्यो एउटा सिङ्गो जातिलाई सदा पददलित बनाइराख्ने प्रपञ्च हो ।

खसहरूले कहिले बुझ्ने खोइ ?

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्