गोत्र थोपरेर खस जातिको पहिचान मेटाउने प्रयास नगर्न आयोगलाई चेतावनी

खसक्षेत्री एकता समाज र विश्व मस्ट धर्म महासंघले खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न राष्ट्रिय समावेशी आयोगको ध्यानाकर्षण गराएको छ ।

समाजका महासचिव इन्द्र बराल र महासंघका अध्यक्ष युवराज कार्कीले शुक्रबार समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेनालाई ज्ञापनपत्र बुझाउँदै आफूहरु गोत्रीय अवधारणा भन्दा वंश/कैरनको पहिचानमा जोडिएको भन्दै यसलाई हटाएर गोत्र थोपरिए नमान्ने चेतावनी दिएका छन् ।

आयोगले खस आर्य समुदायको थर/गोत्र सूचीकरणका लागि सुझाव आह्वान गरेका बेला खस समुदायले असन्तुष्टि जनाएका हुन् ।

‘हामी गोत्रीय अवधारणामा हैन वंश/कैरनको इतिहास बोक्दछौं जस्ले जमिनसँग हाम्रो पहिचान जोडेको रहन्छ । हामी खप्तड, लामाथाडा, श्रीपाल, खुलाल इत्यादी भूगोलससँग वंशको पहिचान जोडिएको जाति हो । यसलाई हटाएर गोत्र थोपर्नु भनेको नेपालकै प्रचलित कानुनअनुसार जाति नास अर्थात जेनोसाइट गरिने अपराधिक कार्य हो,’ ज्ञापनपत्रमा भनिएको छ ।

समावेशी आयोगले खस आर्यका थरि, वर्ण र गोत्र सुचिकृत गर्ने धृष्टता गरेको भन्दै ज्ञापनपत्रमा गम्भीर ध्यानाकर्षणसमेत जनाइएको छ ।

’इतिहासको कालो खण्डमा खस माथि थोपरिएको विभेदकारी वर्णको पहिचान र खसको पहचिान नष्ट गर्न थोपरिएको तथाकथित र अप्रमाणित एवं तर्क संगत नभएको गोत्रलाई प्रमाणित गर्दै आर्यकरण गर्ने कार्य खसको स्वगभिमान, आत्म समन र प्रमाणित इतिहासको हरण हो,’ ज्ञापनपत्रमा भनिएको छ ।

संविधानले नै वर्णगत पहिचानले मानवीय सिँढीगत विभेदलाई व्यवस्थित गर्ने भएबाट संशोधनमार्फत हटाई सकेको अवस्थामा संवैधानिक अक्षर र भावना विपरीत वर्ण स्थापित गर्दै विभेदलाई व्यवस्थित गर्ने प्रयासको गम्भीर संवैधानिक उल्लंघन र भयानक दुष्परिणाम आउने दुबै संगठनको चेतावनी छ ।

‘आयोगले विश्वव्यापी मान्यता र संवैधानिक भावनालाई शिरोपर गर्दै खस जातिका थर वंश/ कैरनको पहिचान कायम गर्दै खसको स्वतन्त्र पहिचान कायम गर्दै खसमाथि न्याय गरोस्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सरोकारका समाजको प्रतिनिधित्व गर्ने संस्थाको राय, सल्लाह र सहभागतिामा यस्तो सम्वेदनशील एवं दूरगामी महत्वका विषयमा निर्णय गरोस् ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्