आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानले संविधानले आत्मसात् गरेको समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र बहुसांस्कृतिकताका मूल्यहरू व्यवहारमा उतार्न सेतुको भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
आइतबारदेखि काठमाडौँमा सुरु भएको आदिवासी ज्ञान महोत्सवको उद्घाटन सत्रमा उनले भने, “आदिवासी जनजातिहरूका सवाल, सरोकार र आवाज राज्यका नीति, योजना तथा कार्यक्रममा प्रभावकारी रूपमा समावेश होऊन् भन्ने उद्देश्यका साथ प्रतिष्ठान निरन्तर क्रियाशील रहेको छ।”
उनका अनुसार प्रतिष्ठानले नीति कार्यान्वयनको सहजीकरण, कार्यक्रम सञ्चालन, अनुसन्धान, क्षमता विकास, ज्ञान अभिलेखीकरण तथा समुदायस्तरमा प्रत्यक्ष विकास र सशक्तीकरणलगायतका काम गर्दै आएको छ।

गुरुङले ज्ञान सम्मेलन–महोत्सव–२०८२ ले आदिवासी जनजातिका मौलिक ज्ञान, सीप, अभ्यास र दर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै नीति निर्माण, बौद्धिक विमर्श र विकास प्रक्रियामा नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरे।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासीको पहिचान र संस्कृतिमाथि राज्य तहबाटै दमन भइरहेको भन्दै त्यसलाई रोक्न माग गरे। आदिवासीको पहिचान र अस्तित्व मेटिएमा नेपालकै पहिचान मेटिने उनको भनाइ छ। आदिवासी ज्ञान र सीप ओझेलमा पर्न नदिन राज्यले लगानी गर्नुपर्ने पनि उनले बताए।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आदिवासीको ज्ञान, सीप र परम्परा लोप हुन नदिन सबै पक्ष सक्रिय हुनुपर्ने बताए।
उद्घाटन सत्रमा आदिवासी झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिएको कार्यक्रम २७ गतेसम्म चल्नेछ। सम्मेलनमा आदिवासीका प्रथा, परम्परा, शासन प्रणालीलगायत विषयमा विभिन्न विज्ञका ८१ वटा कार्यपत्र प्रस्तुत हुनेछन्।



