जनगणनामा जाति र मातृभाषा ‘लिम्बू’ मात्रै लेखाउन कुमार लिङ्देनको अनुरोध

कुमार लिङ्देन ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले हालै सुरु भएको राष्ट्रिय जनगणनामा जाति र मातृभाषामा ‘लिम्बू’ लेखाउन लिम्बू समुदायसँग विनम्र अनुरोध गरेका छन् ।

उनले मातृभाषामा ‘लिम्बू’ मात्रै लेखाउनुपर्नेमा विशेष जोड दिएका छन् ।

‘लिम्बू’ शब्दको अघि वा पछि अन्य कुनै शब्द जोड्ने हो भने त्यो ठुलो भुल हुने र त्यसबाटै लिम्बू समुदाय चिप्लिने उनको भनाइ छ ।

कतिपय लिम्बू अगुवाहरुले आफूहरु वास्तवमा लिम्बू जाति नभएर ‘याक्थुङ’ जाति भएकाले जनगणनामा जाति र मातृभाषामा ‘याक्थुङ’ वा ‘याक्थुङ लिम्बू’ लेखाउनुपर्ने बताइरहेका बेला नेता लिङ्देनले भने लिम्बू शब्दको अघि वा पछि कुनै पनि शब्द नथप्न अनुरोध गरेका हुन् ।

‘मातृभाषा- लिम्बू मात्र हुनुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकबाट लिङ्देनले अनुरोध गरेका छन्, ‘लिम्बूमा अघिपछि केही थपियो भने सम्झिनुस् हामी चिप्लियाैं । त्यसैले लिम्बू समुदायले मातृभाषामा लिम्बू भाषा मात्र लेखौं, लिम्बू भाषाको अघिपछि केही थप्दै नथपौं ।’

उनले राई समुदायको जनसंख्या धेरै भए पनि मातृभाषामा एकरुपता नहुँदा भाषा आयोगले राईभित्रका कुनै पनि भाषालाई सरकारी कामकाजको भाषामा सिफारिस नगरेको दृष्टान्त प्रस्तुत गर्दै सचेत हुन लिम्बू समुदायसँग अनुरोध गरेका हुन् ।

‘राई समुदायको त्यति धेरै जनसंख्या छ । तर पनि मातृभाषामा एकरुपता नहुँदा भाषा आयोगले के गर्यो ? राई समुदायमा परेको पीडा हामी सबैको पीडा हो । राई समुदायको मातृभाषा लाखौ वर्षको लागि संवैधानिक सुरक्षित हुनुपर्छ, त्यसको लागि हामी एक भएर संघर्ष गर्नुपर्छ,’ लिङ्देनको तर्क छ, ‘त्यस्तै यदि लिम्बू समुदायले पनि मातृभाषामा लिम्बू शब्दको अघि पछि केही शब्द थप्यो भने त्यो लिम्बू मातृभाषामा पर्दैन, अन्यमा पर्छ र लिम्बू मातृभाषीको संख्या घट्छ ।’

लिङ्देनले आफ्नाे विनम्र अनुरोधसहितको स्टाटसको अन्त्यमा ‘जातमा लिम्बू, मातृभाषामा लिम्बू’ लेख्नुपर्ने उल्लेख गरेका छन् ।

तर, सोही ठाउँमा उनले जानाजान हो वा अन्जानबस अन्य जातिको समेत उदाहरण दिँदै राई जातिबारे ‘जात राई, मातृभाषामा राई’ लेखाउन भनेका छन् ।

राई समुदायभित्र २६ वटा मातृभाषा रहेकाले राईहरुको जातीय तथा सामाजिक संस्था किरात राई यायोक्खाले भने जातमा राई, मातृभाषामा बान्तावा, कुलुङ, थुलुङ, चाम्लिङ, वाम्बुले, नाछिरिङ, पुमा, आठपहरिया, दुमी लगायत आ-आफ्नाे मातृभाषा लेखाउन सचेतना अभियान चलाइरहेको छ ।

धर्मकाे कुरामा चाहिँ केही बाेल्दिनँ

नेता लिङ्देनले धर्मको महलमा भने आफू नबोल्ने बताएका छन् ।

‘धर्मको कुरामा चाहिँ एउटा राजनैतिक दलको कार्यकर्ता भएकोले मैले केही बोलिनँ, किनकि हाम्रो दल धर्मनिरपेक्षतावादी हो,’ उनको भनाइ छ, ‘तर लिम्बुवान प्रान्तको लागि सशक्त आवाज उठाइरहेको राजनैतिक दल भएकोले हामी स्पष्ट रुपमा भन्छौं– मातृभाषामा लिम्बू भाषा भनेर लेखौं, हाम्रो विनम्र अनुरोध अहिले त्यसमा केही नथपौं ।’

लिम्बू समुदायको जातीय तथा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले पनि जात र मातृभाषामा लिम्बू लेखाउने सचेतना अभियान चलाइरहेको छ ।

धर्मको महलमा भने ‘किरात’ लेखाउनुपर्ने चुम्लुङको अभियान छ ।

Please enter your comment!
Please enter your name here