जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण दुवै नगर्न आग्रह गरेका छन् ।
गोर्खा राज्य विस्तार गर्ने पृथ्वीनारायण शाहको पक्ष र विपक्षमा बहस चलिरहेका बेला नेता भट्टराईले सो आग्रह गरेका हुन् ।
नेपालका आदिवासी जनजाति समुदायले पृथ्वीनारायण शाहलाई आफूहरुकाे मौलिक धर्म, संस्कृति, भाषा, परम्परा मासेर हिन्दुकरण लाद्न सुरुवात गर्ने व्यक्तिको रुपमा लिने गरेका छन् भने प्रायः खस–आर्य समुदायका व्यक्तिहरुले उनलाई नेपाल एकीकरणकर्ता र राष्ट्रिय एकताको प्रतीकको रुपमा लिने गरेका छन् ।
यी दुई पक्षबीच चर्को बहस भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले तत्कालीन समयमा पृथ्वीनारायण शाहको उदय स्वभाविक रहेको बताएका हुन् ।
उनले अब समाजवादी रुपान्तरणको नयाँ युगको सुरुवात गर्नुपर्ने र बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनसंरचना गर्नुपर्ने औल्याएका छन् ।
ट्वीटरमा उनले लेखेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवश्यकता र आकस्मिकताको उपज हुन् । कविला समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पूँजीवाद जन्मने हो । अब समाजवादी रुपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं । चुरो कुरो यो हो !’
पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं!उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्।कविलाइ समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो।अब समाजवादी रूपान्तरणको नयाॅ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो!
— Baburam Bhattarai (@brb1954) January 10, 2022



