महिलाबालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै सेल्फ डिफेन्सको तालिम दिनुपर्ने बताएकी छन् ।

राष्ट्रिय महिला अधिकार दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा दलित महिला संघ (फेडोले) आयोजना कार्यक्रममा उनले साे कुरा बताएकी हुन् ।

महिलाहरूका निम्ति ‘सेल्फ डिफेन्स’ तालिमहरू पनि सञ्चालन गर्न आवश्यक छ । सबै बालिकाहरूका निम्ति स्कुल तहमै सेल्फ डिफेन्सका तालिमहरू सञ्चालन गर्नुपर्छ’मन्त्री चौधरीले भनिन् ।

कतिपय ऐनकानुनका विषयमा जानकारी नभएका कारणले पनि विभेद तथा जातीय छुवाछुतको अन्त्य हुन नसकेको भन्दै उनले जातीय विभेद तथा छुवाछुतविरुद्धका कानुनहरूका बारेमा जानकारी दिने उद्देश्यले नागरिक बडापत्र बनाएर सबै पालिका तथा पालिकाका वडाहरूमा राख्नुपर्ने पनि बताइन् ।

उनले भनिन्, जातीय छुवाछुतलाई कानुनले दण्डनीय बनाएको छ । तथापि छुवाछुत कायम छ । ऐनकानुनको विषयमा पनि धेरैलाई जानकारी हुन सकेको छैन । जस कारणले छुवाछुत गरेमा कानुनी कारबाही हुन्छ भन्ने जानकारी नै छैन । त्यसैले ऐनकानुनको विषयमा पनि जानकारी गराउन आवश्यक छ ।’